काठमाडौं,मंसिर १९ । पछिल्लो समयमा युवापुस्ताले निकै रुचाएका गायक हुन एकदेव लिम्बु। युवा पुस्ताले उनको गीत प्रति देखाएको माया पनि लोभ लाग्दो छ । केही दिन अघि मात्रै उनले नयाँ गीत दर्शक सामु ल्याएका छन् जुन अहिले निकै रुचाइएको छ । लिम्बुको नयाँ गीत ‘झिम झिमाउने आँखा’ले रिलिजको ४ दिनमै विश्वब्यापी लोभलाग्दो सफलता प्राप्त गरेको छ । लिम्बुको शब्द, गायन र संगीत रहेको गीतलाई बुधबारसम्म २६ लाखभन्दा धेरै पटक हेरिएको छ ।
गीतको भिडियोमा लिम्बुसहित दिकिला शेर्पा र उपासनासिंह ठकुरीको अभिनय छ । यो गीत अहिले युट्युवको नेपाल ट्रेन्डिङको शीर्षस्थानमा रहेको छ । यस्तै बुधबार नेपालसहित अष्ट्रेलिया, युएई, बेलायत र कतारमा पनि युट्युव ट्रेन्डिङमा छ । यो गीतले पाएको अर्को सफलता भनेको युट्युवले बुधबार सार्वजनिक गरेको संसारमै उत्कृष्ट दैनिक धेरै हेरिएका सय म्युजिक भिडियोको ‘ग्लोबल हन्ड्रेड युट्युव चार्ट्स’को ९७ औं स्थानमा पुग्न सफल भएको छ । रिलिज भएको ४ दिनमै नेपाली गीतले यो सफलता पाउनु भनेको नेपाली गीत संगीतको क्षेत्रमा फड्को मार्नु हो । अर्थात भनौ यो नेपालीहरुको लागि ठुलो सफलता हो ।
बुधबार मात्रै यो नेपाली गीत उक्त चार्ट्समा प्रवेश गरेको थियो । बाहिर देशमा समेत ट्रेन्डिङमा भएकाले यो गीत चार्टबस्टरको माथि उक्लिन धेरै नै सम्भावना छ । बेलायतको चार्टबस्टरमा ९३ औं स्थानमा छ । अष्ट्रेलिया र युएईमा ३ दिनदेखि लगातार ट्रेन्डिङमा छ । यस्त्ौ युएईमा मंगलबार ४७ स्थानमा थियो भने उक्लिएर बुधबार ४२ औं स्थानमा छ । उपासनाले अभिनय गरेको फिल्म ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ युट्युवको ग्लोबल ट्रेन्डिङमा डेढ महिना स्ट्रिमिङ हुँदै रेकर्ड राखिसकेको छ । उपासना अभिनित गीत युट्युवको ग्लोबल ट्रेन्डिङमा परेको यो दोस्रोपटक हो ।