काठमाडौं, पुष ६ । आज सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । टीयू क्रिकेट मैदानमा आज दिउँसो भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै एनपीएलको उपाधि जितेको हो ।
१ सय ८५ रनको लक्ष्य पाएको जनकपुरले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्यो । जनकपुरका लागि लागि लाहिरु मिलन्थाले ९ चौका र ४ छक्काको बलमा ८७ रनको योगदान दिएसँगै जनकपुरको जित सहज बनेको थियो ।
जनकपुरका लागि कप्तान आसिफ शेखले ३३, मोहम्मद मोहसिनले ९, आकाश त्रिपाठीले २ र जिमी निशमले ४ रनको लिए भने हर्ष थाकर ३० रन र मायन यादव २ रनमा अविजित रहे ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । सुदूरपश्चिमका लागि दुई ओपनर सैफ अलि जैब र विनोद भण्डारीले पहिलो विकेटका लागि ११७ रनको शतकीय साझेदारी गरे ।
सुदूरपश्चिमका लागि सैफले ६९, विनोद भण्डारीले ४१, ब्रान्डन म्याकमुलने १४, हर्मित सिंहले १४, स्कट कुगेलेइनले १३, दीपेन्द्रसिंह ऐरीले ९, नरेश बुढाएरले ८, इसान पाण्डेले ६ र आरिफ शेखले १ रन जोडेर आउट भए भने नरेन साउद १ रनमा अविजित रहे ।
बलिङतर्फ सुदूरपश्चिमका सैफ अलि जैब, कप्तान दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे र स्कट कुगेलेइनले एकएक विकेट लिए । त्यस्तै जनकपुरका मोहम्मद मोहसिन र किशोर महत्तोले ३३ विकेट साथै जिमी निशम र ललित राजवंशीले एकएक विकेट लिए ।
विजेता जनकपुरले पायो ट्रफीसहित १ करोड १० लाख रुपैयाँ
एनपीएलको पहिलो संस्करणको उपाधी जितेको जनकपुरले एनपीएलको ट्रफीसहित १ करोड १० लाख रुपैयाँ प्राप्त गरेको छ । संस्करणको उपविजेता सुदूरपश्चिमले भने ५१ लाख प्राप्त गर्यो ।
फेयर प्लेको अवार्ड लुम्बिनी लायन्सलाई
प्रतियोगिताको फेयर प्ले अवार्ड लुम्बिनी लायन्सले प्राप्त गरेको छ ।
सर्वोत्कृष्ट खेलाडी सैफ अली जैब
प्रतियोगितामा २७५ रन र १२ विकेट लिएका सुदूरपश्चिम रोयल्सका सैफ अली जैब एनपीएलको सर्वोत्कृष्ट खेलाडी बने। उनले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।
सर्वोत्कृष्ट नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरी
प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडी सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी बने । उनले ओमोडा ईभी कार पुरस्कारमा प्राप्त गरेका छन् ।
सर्वोत्कृष्ट बलर ललित राजवंशी
प्रतियोगिताको सर्वोत्कृष्ट बलर जनकपुर बोल्ट्सका ललित राजवंशी भए । एनपीएलमा १७ विकेट लिएका उनले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् ।
उदीयमान खेलाडी विपीन खत्री
प्रतियोगिताको उदीयमान खेलाडी कर्णाली याक्सका विपीन खत्री घोषित भए । प्रतियोगितामा १४ उनले पुरस्कार स्वरुप ५० हजार नगद र एक लाख बराबरको छात्रवृत्ति पाए।
इनर्जेटिक प्लेयर जिमी नीशम
प्रतियोगिताको इनर्जेटिक प्लेयर अफ द टुर्नामेण्ट जनकपुरका जिमी नीशमले प्राप्त गरे । पुरस्कार स्वरुप उनले २ लाख रूपैयाँ प्राप्त गरेका छन् ।