काठमाडौं,साउन ७ । केयर गिभरका लागि इजरायलले नेपालबाट दुई हजार श्रमिक लाने भएको छ । द्वन्द्वग्रस्त मुलुक इजरायलमा २ हजार संख्यामा केयर गिभर श्रमिक लाने भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र नेपालस्थित इजरायली राजदूत हनान गोडर गोल्डबर्गरबीच भएको भेटवार्तामा नेपाली केयर गिभरहरूको संख्या बढाउने सहमति भएको हो । गत असारमा इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार केयरगिभर लागि ८०० जनाको आवेदन खोलेको थियो ।
अब यो संख्या ८०० बाट बढाएर २ हजार पुर्याउन सकिने गरी सहमति भएको हो । जसमा एक हजारलाई मुख्य र बाँकी एक हजारलाई वैकल्पिक उम्मेदवारका लागि कोटा छुट्टाइएको छ । इजरायल–प्यालेस्टाइन द्वन्द्वमा हराएका नेपाली नागरिक विपिन जोशीलाई सरकारले अहिले सम्म पनि नेपाल ल्याउन सकेको छैन ।