काठमाडौं,असोज ४ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताएका छन् ।ढकालले महासंघको सक्रियता र निरन्तरको लगाबले अर्थतन्त्र सुध्रिएको बताएका हुन ।
ललितपुर उद्योग वाणिज्य संघको ४५औं वार्षिक साधारण सभालाई शुक्रबार सम्बोधन गर्दै उनले भनेका छन्, कोभिड महामारी र रुस युक्रेन युद्धपछि विश्वका अन्य देशहरू जस्तै नेपालको अर्थतन्त्र पनि के कसो हुने हो भन्ने त्रास सबै नागरिकमा थियो । त्यति नै बेला फेरि यहाँ पनि श्रीलंकाको हावा छिराइयो,’ उनले भने, ‘हामी नेतृत्वमा आएपछिको करिब डेढ वर्ष हामीले यसरी काम गर्यौंकि अहिले भने आशा जागेको अवस्था छ । अर्थतन्त्र सुधारका संकेत देखिएका छन् ।’
अर्थतन्त्रलाई थप बिग्रन नदिन र कोभिडपछि त्यसअघिकै अवस्थाको पुनर्स्थापना गर्न सुधारका कामहरूको सुरुवात गरेर सरकारलाई दबाब दिएको उनको उनको भनाइ छ ।
पहिले दाताले प्रतिबद्धता गरे बमोजिमको लगानी नआएको भन्दै उनले यसपटक किन आएन भनी प्रश्न पनि गरेका छन् । उनले भनेका छन्, कतिपय कानुन नै बाधक देखिए, तिनको संशोधनका लागि हामीले पहल गर्यौं । सरकारलाई दबाब पनि दियौं ।’
जिल्ला जिल्लामा जाँदा साना व्यवसायीले ससानो पूँजी लगानी गर्ने ठाउँ बनाइदिनुपर्यो भन्ने गरेका प्रसंग उल्लेख गर्दै अध्यक्ष ढकालले देशले वैदेशिक लगानी मात्र नहेरेर देशभित्रै छरिएर रहेको पूँजीलाई पनि एकीकृत गरी ठूला लगानी बनाउन सक्ने सम्भावना रहेको उनको भनाइ थियो ।