काठमाडौं, भदौ ३१ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले प्रतिनिधिसभा समक्ष प्रतिवेदन पेश गरेको छ । समितिको बैठकबाट साझा धारणा बनेर प्रतिवेदनमा सबै सदस्यले हस्ताक्षर गरी प्रतिवेदन आजको प्रतिनिधिसभा बैठकमा बुझाइएको हो ।
सोमबार छानबिन विशेष समितिका सभापति सूर्य थापाले प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन बुझाउने क्रममा सभापति थापाले सहकारी समस्या समाधान गर्ने क्रममा सबैको समान धारणा बनेको र सबैको साझा प्रयासले नै सहकारी क्षेत्रको पुनरउत्थान हुने बताए ।
थापाले सहकारी ठगीमा विवाह, अंशबन्डादेखि ऋणी र शेयर सदस्य समेत ‘फेक’ रहेको,बताए । उनले थपे, ‘सहकारी क्षेत्रले नक्कलीको बिगबिगी खेपिरहेको छ । यहाँ विवाह, अंशबन्डा, पुनर्विवाह पनि फेक गरिएको छ । लेखापरीक्षण प्रतिवेदन फेक छन्,कार्य प्रणाली पनि फेक छन् । साधारणसभा, प्रतिवेदन पनि फेक छन् । सेयर सदस्य फेक बनाइन्छन् । ऋणी फेक छन् ।
सभामुख देवराज घिमिरेले उक्त प्रतिवेदन आवश्यक कामका लागि सरकारलाई पठाउन संसद सविचालयलाई निर्देशन दिए। संसदले प्रतिवेदन सरकारलाई पठाएसँगै त्यससम्बन्धी थप काम गर्ने जिम्मेवारी सरकारमा आएको छ ।