काठमाडौं,पुस ४ । लामो समय देखि अमेरिकामा क्यान्सरसँग संघर्ष गरिरहेका विवेक पंगेनीको निधन भएको छ । अस्पतालमा उपचारका क्रममा हिजो उनको निधन भएको हो ।विवेकलाई ब्रेन क्यान्सर भएको थियो । चौंथो स्टेजको क्यान्सरसँग लडिरहेका आफनो श्रीमानलाई बचाउन उनकी पत्नी सिर्जना सुबेदीले निकै संघर्ष गरेकी थिइन् । विवेक बिरामी हुनुभन्दा अगाडि नै टिकटकबाट यो जोडी चर्चामा आएको थियो ।
उनीहरुका थुप्रै भिडिओ टिकटकमा भाइरल भएका थिए । केही दिनदेखि विवेकको स्वास्थ्य अवस्था बिग्रिएको थियो ।विवेक २०७९ सालमा भौतिकशास्त्रमा पीएचडी गर्नलाई फुल स्कलरसीपमा अमेरिका गएका थिए । अमेरिका पुगेको ५ महिनापछि नै पार्किन्सन्सले थलिएकी आमाको निधन भएपछि उनी नेपाल आएका थिए । । आमाको काजक्रिया सकेपश्चात अमेरिका फर्किने तयारी गर्दैगर्दा उनको आफ्नै स्वास्थ्यमा समस्या देखिएको थियो । अमेरिका जाने अघिल्लो दिन स्वास्थ्य परीक्षणका लागि अस्पताल जाँदा विवेकलाई चौंथो स्टेजमा पुगेको ब्रेन ट्युमर देखियो । त्यसपछि विवेकलाई अमेरिका लगेर उनको उपचार त्यही भइरहेको थियो । दुईवटा शल्यक्रिया गरेर र ७० प्रतिशत ट्युमर निकालिएको थियो ।
बाँकी उपचार किमोथेरापी र रेडियसनमार्फत लामो समयदेखि भइरहेको थियो । श्रीमानप्रति सिर्जनाले गरेको माया र समर्पणको सामाजिक सञ्जालमा उच्च प्रशंशा हुँदै आएको थियो ।श्रीमानको अवस्था नाजुक बनेपछि सिर्जनाले ससुरालाई नेपालबाट बोलाएकी थिइन् । विवेकका पिता मिनराज पंगेनी अमेरिका प्रस्थान गरिसकेको बुझिएको छ । शव नेपाल ल्याउने वा नल्याउने टुंगो भने लागिसकेको छैन ।