काठमाडौं,फागुन १२ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवाद केन्द्रले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालबारे दिएको अभिव्यक्तिका सम्बन्धमा सरकार मौन रहन नहुने बताएका छन् ।
पार्टीका तर्फबाट सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद पूर्णबहादुर घर्तीमगरले यस्तो बताएका हुन । उनले भने ‘दुई देशको बीचको समझदारी अनुसार, सम्झौता अनुसार लागू गरिएका योजनाहरूलाइ एक पक्षीय ढंगले अमेरिकाले स्थगित गर्नु र फ्रड भन्ने कुरा वास्तवमा कुटनीतिक मर्यादा विपरीत छ । यसका सन्दर्भमा नेपाल सरकार बोल्न जरुरी छ । यसका बारेमा मुख खोल्न जरुरी छ,’
जनवरी २० मा राष्ट्रपतिको शपथ लिएलगत्तै ट्रम्पले विभिन्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यी आदेशमध्ये केही वैदेशिक अनुदान रोक्नेसँग सम्बन्धित थियो । केही दिनअघि मात्रै मस्कको नेतृत्वको प्रशासनिक दक्षता विभाग (डज)ले नेपाल, भारत, बंगलादेश लगायत विश्वका कयौँ देशलाई अनेक शीर्षकमा दिँदै आएको सहायता रोकेको छ । यस्तै डजले नेपाललाई जैविक विविधता संरक्षण गर्न र वित्तीय संघीयताका लागि दिँदै आएको रकम पनि रोकेको छ ।
राष्ट्रपति ट्रम्पले नेपाललाई दिँदै आएको रकम रोक्का गर्नुको कारण दिने क्रममा फ्रड भनेका हुन् । डजले नेपाललाई वित्तीय संघीयताका लागि र जैविक विविधता संरक्षणका लागि सहयोग दिँदै आएको थियो । यसैलाइ ट्रम्पले ‘फ्रड’ भनेका हुन् ।
यसबारे नेपाल सरकारले आधिकारिक रुपमा कुनै पनि प्रतिक्रिया जनाएको छैन । तर, मौन बस्न नहुने भनेर प्रमुख प्रतिपक्षी माओवाद केन्द्रले सरकारको ध्यानाकर्षण गरेको हो ।