काठमाडौं,माघ ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका पछिल्ला कदमले संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा भएको बताएका छन् । चितवनको माडीमा अवस्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्,‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै दुर्घटना हुने हो कि भन्ने खतरा पैदा भएको छ, ‘संविधान, लोकतन्त्र, समावेशी र समानताका पक्षमा यसले खोस्न खोजियो भने देश राजनीतिक खतरामा जानसक्छ ।’
दुर्घटनाबाट देशलाई बचाउन उनले जनप्रतिनिधि लगायत सम्पूर्ण जनतालाई आ–आफ्नो ठाउँबाट आवाज उठाउन अनुरोध पनि गरेका छन्। उनले भने,‘मेरो सरकार हुँदा केही सकारात्मक पहल भएका थिए । त्यही सन्दर्भमा निकै अप्राकृतिक, अपारदर्शी र असंवैधानिक ढंगबाट पहिलो र दोस्रो दल मिलेर सरकार बन्यो,’ प्रचण्डले भने, ‘सरकार बनेयता गरेका कामहरू संविधान र लोकतन्त्रको मर्यादा विपरीत धेरै काम भएका छन् ।’