कैलाली, असोज २० । नेपालीहरुको महानचाड दशैं तथा दिपावली नजिकीएसँगै रोजगारीका लागि छिमेकी मुलुक भारत गएकाहरु घर फर्कन थालेका छन् । कैलालीको त्रिनगर नाकाबाट दिनहुँ नेपाली स्वदेश भित्रिने क्रम बढ्दै गएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म धनगढीले जनाएको छ ।
त्रिनगर सीमा नाकाबाट एक सातामा छ हजार नौ सय ४७ जना नेपाली भित्रिएका सीमा सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए । उनका अनुसार यही असोज १२ गते तीन सय १८, १३ गते तीन सय चार, १४ गते तीन सय ९८, १५ गते छ सय तीस, १६ गते छ सय ८०, १७ गते एक हजार ९०, १८ गते एक हजार पाँच सय ६९ र १९ गते एक हजार नौ सय ५८ जना नेपाली भारतका विभिन्न सहरबाट घर फर्किएका हुन्।
यात्रुहरुको आवतजावतमा सहजताका लागि बडादसैँ, तिहार र छठपर्वसम्म सीमा नाकामा यात्रु सहायता कक्षसमेत निर्माण गरिएको छ । बाजुराका मनोज कडारा पाँचजना परिवारसहित सोही नाकाबाट घर फर्किउका छन् । दश वर्षदेखि भारतको मुम्बईमा सेक्युरिटी गार्डको जागिर गर्दै आएका कडाराले चाडपर्व मनाउनका लागि घर फर्केको बताए ।
भन्सार सीमा नाकामा हेल्प डेक्स निर्माणसँगै घर फर्कंदा पहिला भन्दा धेरै सहज भएको उनको भनाइ छ । ‘चाडपर्वमा परिवारका सदस्यबीच एकसाथ भेटघाट हुने, मिठामिठा स्थानीय खानाका परिकार खाइ रमाइलो गरी मनाउने गरिन्छ’, कडाराले भने, ‘जसले घर बाहिर लामो समय एक्लो भएर बस्दाको तनाब कम हुन्छ।’