काठमाडौं,असोज १५ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार शुक्रबार र शनिबार आएको भीषण वर्षाले मुलुकको कृषि क्षेत्रमा डर लाग्दो विवरण सार्वजनिक भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार करिब ६ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको हो ।
मन्त्रालयले संकलन गरेको विवरण अनुसार बाली, पशुपन्छी धन, माछा लगायतमा ६ अर्ब बढीको क्षति देखिएको छ । तर यो मन्त्रालयको विवरण अन्तिम नभइ प्रारम्भिक मात्र भएको र पूर्ण विवरण आउन समय लाग्ने मन्त्रालयको भनाइ छ । प्रारम्भिक विवरण अनुसार सबैभन्दा धेरै धान खेती नष्ट भएको छ । बाढीले ५८ हजार ४ सय ७६ हेक्टर धानबाली नष्ट भएको छ । बाढीपहिरोले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेमा गरी ३ अर्ब ५० करोड रुपैयाँ बराबर क्षति भएको हो ।
यस्तै ७० करोड बराबर १३ हजार हेक्टर अलैंची खेती नष्ट भएको छ । अलैंची खेती सबैभन्दा धेरै खोटाङमा नष्ट भएको हो । मधेश प्रदेशको पर्सा लगायत जिल्लामा ८५ हेक्टर क्षेत्रफलको ३४ करोड रुपैयाँ बराबर उखु खेती नष्ट भएको छ । यस्तै फलफूल बगैंचातर्फ २२ हेक्टर नष्ट भएको मन्त्रालयको तथ्यांक छ । कास्की, नवलपरासी पूर्व, कञ्चनपुर र रौतहटमा धेरै बगैंचा नष्ट भएको हो ।यस्तै माछा, पशुजन्यमा पनि डरलाग्दो क्षतिको विवरण सार्वजनिक भएको छ ।
मन्त्रालयका अनुसार कृषि बालीमा मात्र नभई माछापोखरी र पशुपन्छीको पनि ठूलो क्षति भएको छ । धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा लगायत जिल्लाका ४ सय ५८ हेक्टर माछापोखरीमा क्षति पुगेको छ । माछामा मात्रै १ अर्ब १३ करोड रुपैयाँ बराबर क्षति भएको छ ।