काठमाडौं,साउन १२ । नेपाली कांग्रेसमा भएको विवादको कारण मन्त्री नियुक्त भएका एकजना प्रदेशसभा सदस्य शपथ अगाबै मन्त्रिपरिषद्बाट बाहिरिएका छन् । बिहिवार बागमती प्रदेशको आर्थिक मामिला मन्त्री नियुक्त भएर शपथग्रहणको लागि तयार भएका प्रभात तामाङ मन्त्रिपरिषद्बाटै बाहिरिएका हुन्। ।
तामाङलाई आर्थिक मामिला मन्त्रीको जिम्मेवारी दिएपछि रुष्ट बनेका कुन्दनराज काफ्लेले मुख्यमन्त्री बहादुर सिंह लामालाई भेटेर असन्तुष्ट जाहेर गरेपछि विहिबार कांग्रेसका नवनियुक्त मन्त्रीहरुको शपथ रोकिएको थियो ।
काफ्लेलाई आर्थिक मामिला मन्त्री बनाउने सहमति गरेपनि मुख्यमन्त्री लामाले एकाएक तामाङलाई अर्थमा नियुक्ति गरेपछि कांग्रेसमा विवाद भएको थियो ।
मुख्यमन्त्री लामाले सत्ता साझेदार एमालेको सहमति बेगर १३ बाट १४ मन्त्रालय बनाएको भन्दै बिहीबारको शपथग्रहणबाट एमाले पनि बाहिरिएको थियो ।
तर शनिबार बिहान एकाएक लामाले यसअघि मन्त्री बनाएका तामाङलाई आर्थिक मामिलाबाट मात्र नभै मन्त्रिपरिषद्बाट हटाउँदै उनको ठाउँमा काठमाडौंकी हरिप्रभा खड्गी श्रेष्ठलाई मन्त्रीमण्डलमा सामेल गर्दै यसअघि काफ्लेलाई दिइएको सामजिक विकास मन्त्रीको जिम्मेवारी दिए । काफ्लेलाई उनले अपेक्षा गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
लामाको यो कदमपछि बागमतिमा इन्द्र बानियाँ र लामा समूहको विवाद थप बढ्ने देखिएको छ । तामाङलाई अर्थको जिम्मेवारी दिन बानियाँले सुरुदेखिनै पहल गरेको जनाइएको थियो ।