काठमाडौं,वैशाख २ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको शयन कक्ष (बेडरुम) सम्म हुने गरेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले निजी क्षेत्र र विचौलिया फरक कुरा भएको बताउँदै अहिलेको अर्थतन्त्रमा समस्या विचौलियाका कारणले आएको समेत बताए ।
उनले भनेका छन्, ‘प्राइभेट सेक्टर र विचौलिया भनेको फरक कुरा हो । हाम्रो इकोनोमिमा अहिले समस्या भएको भनेको विचौलियाको कारणले हो । विचौलियाहरू म यो प्रधानमन्त्री त्यो प्रधानमन्त्री भन्दिनँ,’ उनले भने, ‘विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो । नेतृत्वको बेडरुमसम्म हुने भयो । मलाई अहिलेसम्म थाहा थिएन ।’
यस्तै पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदा यो बन्ला की त्यो बन्ला भन्ने कौतुहलता हुने गरेको भएपनि अहिले विचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुला बहस र छलफल हुने अवस्था देखिएको उनको भनाइ थियो ।
‘पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदै गर्दा गभर्नर यो बन्ला की त्यो बन्ला की । गभर्नर यसले बनाउला की त्यसले बनाउला की रु भन्नेकुरा हुन्थ्यो । अब अहिले विचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुला बहस हुने, छलफल हुने अवस्था बन्ला की आउने भनेको हामी कहाँनेर पुग्यौँ ? ,’ महामन्त्री थापाले भने ।