समाचार

पानी जहाज सञ्चालन सम्बन्धी ऐन बनाइने

पानी जहाज सञ्चालन सम्बन्धी ऐन बनाइने

काठमाडौं,पुस १४ । पानी जहाज सञ्चालन सम्बन्धी ऐन बनाइने भएको छ । सरकारले कानुनी व्यवस्था गर्ने गरी तयार पारेको विधेयक संसदमा लगिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यस सम्बन्धी विधेयक राष्ट्रिय सभामा दर्ता गरेका हुन् ।पानीजहाज सञ्चालनलाई विकास र विस्तार गर्न ऐन बनाउन लागिएको हो । 

जलमार्गलगायतका वैकल्पिक यातायात सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना र नियमन संघको अधिकारको कार्य विस्तृतीकरणमा रहेको उल्लेख गर्दै मन्त्रालयले यो विषय संघ र प्रदेशको साझा अधिकारको सूचीमा भएकाले यसअनुसार ऐन बनाउन लागिएको जनाएको छ । प्रस्तुत विधेयक ऐनमा रुपान्तरण भएपछि जलमार्गको रुट निर्धारण, अनुमति र प्रयोग सम्बन्धी व्यवस्था हुनेछ । पानीजहाज निर्माण, पानीजहाज सेवा सञ्चालन, सर्भे, दर्ता गर्न, पानीजहाजमा रहने लिखत, दर्ता प्रमाणपत्र सम्बन्धी व्यवस्था गर्न विधेयक ल्याइएको हो । ‘व्यापारिक पानीजहाजलाई राष्ट्रियताको प्रमाणपत्र प्रदान गर्न, पानीजहाजमा नेपालको झण्डा प्रयोग गर्न, पानीजहाजको स्वामित्व र बन्धकीको हक हस्तान्तरण, टनेज तथा सुरक्षाको प्रमाणपत्र सम्बन्धी व्यवस्था गर्न विधेयक ल्याइएको मन्त्रालयले जनाएको छ । 

विधेयक ऐनमा रुपान्तरित भएपछि पानीजहाज सञ्चालन गर्दा पालना गर्नुपर्ने सर्त, प्रदूषण नियन्त्रण र फोहोरमैला व्यवस्थापनको सर्त, मर्मत सम्भार, दुर्घटनाको जाँचबुझ, खोज तथा उद्दार, पानीजहाज कार्यालय, रजिष्ट्रारको काम, कर्तव्य र अधिकार तोकिनेछ । यससम्बन्धी विधेयक संसदमा ल्याउन मन्त्रिपरिषद्‌को बैठकले २०८१ साल असार २७ गते मन्त्रालयललाई स्वीकृति दिएको थियो । मन्त्री दाहालका अनुसार संसदमा प्रस्तुत विधेयक पारित भएपश्चात् आन्तरिक जलमार्गमा सञ्चालन हुने पानीजहाजको नियमन भई पानीजहाज सेवा सुरक्षित, स्तरीय, विश्वसनीय, नियमित र व्यवस्थित हुनेछ । साथै समुन्द्रमा सञ्चालन हुने पानीजहाजको दर्ता, सर्भे तथा झण्डा सम्बन्धी व्यवस्था प्रभावकारी रुपमा कार्यान्ववन हुनेछ ।

Related Tag :

Related Post