समाचार

सशस्त्र युद्धमा बेपत्ता भएकी लक्ष्मी खतिवडाको २२ वर्षपछि काजकिरिया

सशस्त्र युद्धमा  बेपत्ता भएकी लक्ष्मी खतिवडाको २२ वर्षपछि काजकिरिया

  मोरङ,भदौ २५ ।   मोरङको पथरीशनिश्चरे नगरपालिका–५ की लक्ष्मी खतिवडाको बेपत्ता भएको २२ वर्षपछि काजकिरिया गरिएको छ । सशस्त्र युद्धमा २३ वर्षको उमेरमा १७ भदौ २०५९ मा बेपत्ता भएकी उनको  २२ वर्षपछि काजकिरिया गरिएको  हो ।

हालै जिल्ला अदालत मोरङले मृत्युको न्यायिक घोषणा गरेपछि परिवारले काजकिरिया गरेको छ । गत १७ भदौमा कुशको शव बनाएर परिवारले उनको दाहसंस्कार गरेको थियो । लक्ष्मीका ८३ वर्षीय बुबा जनकलाल खतिवडा काजकिरियामा बसेका छन् ।

२०५८ मंसिरमा भूमिगत भएकी लक्ष्मीलाई १७ भदौ २०५९ मा राज्यपक्षले पक्राउ गरेको थियो । त्यसपछि परिवारले उनलाई भेट्न पाएन । भाइ प्रेमका अनुसार पक्राउ परेको १५ दिनपछि जानकारी पाएर सोधीखोजी गर्दा लक्ष्मीको अवस्था पत्ता लाग्न सकेन । बेपत्ता भएको २२ वर्षसम्म अवस्था पत्ता नलागेपछि लक्ष्मीको मृत्युको न्यायिक घोषणा गर्न माग गर्दै २०८० साउन १४ गते उनका बुबा जनकलालले जिल्ला अदालत मोरङमा निवेदन दिएका थिए । २०७५ साल भदौदेखि लागू भएको मुलुकी देवानी संहिताको दफा ४० को ४ मा बेपत्ता व्यक्तिको मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रावधान छ ।

अदालतले लक्ष्मी पक्राउ परेको दिनलाई आधार मान्दै २५ भदौ २०८० मा मृत्युको न्यायिक घोषणा गरिदिएको हो । मुलुकी देवानी संहितामा विना सूचना १२ वर्षसम्म बेपत्ता भए मृत्यु भएको मानिने उल्लेख छ ।

लक्ष्मीका दाजु अनिलका अनुसार लक्ष्मीको नाम बेपत्ताको सूचीमा छ । खोजीका लागि सत्यनिरुपण तथा वेपत्ता छानविन आयोग आयोगमा निवेदन पनि दिइएको थियो । तर छानबिन प्रक्रिया अघि नै बढेन ।

Related Tag :

Related Post