काठमाडौं, जेठ १९ । देशभर सार्वजनिक यातायातका साधन बन्द हुँदा यात्रीहरु मर्कामा परेका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको विरोधमा आन्दोलनरत यातायात व्यवसायीहरुले आज देशभर लामो तथा छोटो दुरीका सवारी साधन नचलाउँदा यात्रीहरु मर्कामा परेका हुन् ।
यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार कालो नम्बर प्लेटका सबै यातायातका साधन सातवटै प्रदेशमा चलेको छैन ।
काठमाडौं उपत्यकामा पनि लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । काठमाडौं उपत्यकाका सडकहरुमा निजी मोटरसाइकल, कार र केही ट्याक्सीहरु फाट्टफुट्ट चलेको देखिएको छ । तर सार्वजनिक बस, माइक्रो बस र टेम्पोहरु चलेका छैनन् । सधैं व्यस्त हुने काठमाडौंका सडकहरु आज बिहानैदेखि सुनसान देखिन्छन् ।
बस स्टपहरुमा यात्रीहरु गाडीको प्रतिक्षा गरिरहेको देखिन्छ । कोही पठाओमा चढेर र कोही पैदलै हिँडेर गन्तव्यमा गइरहेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अघिल्ला दिनको तुलनामा आज सार्वजनिक सवारी साधन कम मात्र चलेको जनाएको छ ।