काठमाडौं, साउन ५ ।
बंगलादेशमा अहिले आरक्षणको नियम सम्बन्धी विषयबाट अशान्तिमा रुमल्लिएको छ । राजधानी ढाकामा थप ३५ जनाको मृत्यु भएसँगै प्रशासनले देशव्यापी कर्फ्यू लगाएको छ ।
बंगलादेशमा १९७१ मा भएको स्वतन्त्रता संग्रामका हिमायतीहरूका परिवारहरूका लागि सार्वजनिक जागिरमा रहेको आरक्षणको नियम हटाउन विद्यार्थीहरूले सरकारलाई आग्रह गरेसँगै त्यहाँ हिंसा फैलिरहेको छ ।
शुक्रबार भएको नरसिङदी कारागारको आक्रमणपछि सयौं कैदी रिहा भएपछि सरकारले कर्फ्यूको घोषणा गरेको हो । त्यससँगै सेनालाई सडक व्यववस्थाका लागि खटाउन लागेको भनि सरकारी अधिकारीले बताए ।
बीबीसीका अनुसनर अहिले त्यहाँ मोबाइल इन्टरनेट र टेलिफोन लाइनहरू ठप्प भएकाले हताहतिको वास्तविक संख्यालगायत तत्कालीन अवस्थाको आकलन गर्न गाह्रो भएको छ । हिंसा भड्किएदेखि अहिले झन्डै ६७ जनाको मृत्यु भइसकेको बुझिएको छ ।
अर्को सूचना जारी नभएसम्मका लागि बंगलादेशका विद्यालय र विश्वविद्यालयहरू पनि बन्द गरिएका छन् भने सार्वजनिक यातायातका बस र रेल सेवाहरू पनि रोकिएको छ।
विद्यार्थीहरूले कोटा प्रणाली भेदभावपूर्ण रहेको भन्दै योग्यताका आधारमा भर्ना गर्न माग गरिरहेका छन् । यही विषयमा अहिले आन्दोलन चर्किएको अवस्था छ । हाल विद्यार्थी लगायत अभिभावकहरु पनि यसमा सामेल भएका छन् ।
फाेटाे : The New York Times