काठमाडौं,असोज १६ । आँगन स्वीट्सका मिठाइ उत्पादन हुने कम्पनी आकाश फुड्समा बाढीले भिजेको, प्याकेजिङ खुइलिसकेका, पुरानो तेल तथा खाद्यवस्तु प्रयोग गरी मिठाई उत्पादन भइरहेको भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग विभागले २ लाख रुपैयाँ जरिबाना तिराएको छ । उत्पादन हुने स्थलमा उपभोक्ता हित प्रतिकुल अवस्था देखिएपछि जरिबाना तिराएको विभागको भनाइ छ ।
मिठाइ उत्पादनमा प्रयोग हुने तेलको उत्पादन मिति खुइलिसकेको, तेलको शुद्धीकरणमा ध्यान नदिएको, एक पटक प्रयोग गरेको तेललाई पुनः पटक पटक प्रयोग गरेको जस्ता कैफियत देखिएको थियो ।
विभागले मंगलबार नै जावलाखेलस्थित हानकुक साराङ रेष्टुरेन्टमा समेत अनुगमन गरेको थियो । सो क्रममा ब्राण्ड उल्लेख नभएको मैदा प्रयोग भएको, उत्पादन मिति उल्लेख हुने लेबल नभएको सामान प्रयोग भएको भेटिएपछि ३ लाख रुपैयाँ जरिवाना तिराइएको थियो ।